अप्रिल 12, 2025

 764,833 total views,  144 views today

१७ फागुन २०७७, काठमाडौँ

विसं २०७८ मा तीन दसैँ परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैँ परेको छ।

वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ।

कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि सुरु हुनेछ । दसैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।

वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन ।

यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दसैँ परेको उनले जानकारी दिए। रासस