डिसेम्बर 24, 2024

प्रदेश १ का तीन जना मन्त्रीद्वारा राजीनामा

 750,138 total views,  557 views today

काठमाडौँ – प्रदेश १ का तीनजना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख छ ।
यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव बिस्तारै प्रदेश सरकारतिर पनि देखिन थालेको छ ।