750,005 total views, 424 views today
मङ्सिर ३०, लन्डन
सन्तोष शाहको परिष्कृत योमरीले सेमिफाइनलमा चर्चा बटुल्यो
यूकेको चर्चित पाककलासम्बन्धी टेलिभिजन प्रतियोगिता मास्टरशेफको फाइनल चरणमा पुग्नु आफ्नो निम्ति सपना साकार भए सरह भएको सन्तोष शाहले बताएका छन्।
हाल लन्डनमा कार्यरत नेपाली शेफले फाइनल चरणका छ प्रतियोगीमध्ये आफूलाई उभ्याउने क्रममा निर्णायकहरूबाट निकै प्रशंसा बटुलेका छन्।
सेलेब्रिटी शेफ एन्ड्रू वङका लागि गत साताको सेमिफाइनलमा सन्तोषले नेपालको योमरी परिकारको परिष्कृत रूप प्रस्तुत गरेका थिए। योमरीभित्र चकलेट तथा काजु हालिएको थियो र माथि सुन्तला र दालचिनीले सजाइएको थियो। लगत्तै उनले भारतीय-चिनियाँ शैलीको चिकन चिली पनि पस्किए।
निकै प्रभावित देखिएका निर्णायकहरूले त्यो दिनको उत्कृष्ट परिकार भन्दै शाहलाई सोझै फाइनल चरणमा प्रवेश दिए।
मङ्गलवार उनी बीबीसी टीभीको उक्त चर्चित प्रतियोगिताको फाइनलमा अन्य पाँच प्रतियोगीसँगै सहभागी हुँदैछन्। त्यसपछि दुई राउन्डको परीक्षणमा प्रतियोगीहरूको सिर्जनशीलता, गति अनि पाककलाका गुण थप जाँचिनेछन् र दशौँ लाख दर्शकका सामु बिहीवार अन्तिम विजेता घोषित हुनेछ।
“मलाई सधैँ नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न मन लाग्थ्यो। यो प्रतियोगिताले मलाई त्यो अवसर दिएको छ,” सन्तोषले बीबीसीलाई भने।
यो प्रतियोगिताले उनलाई नेपालमा पनि निकै चर्चित बनाइसकेको छ। राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि उनी बारे समाचार र अन्य सामग्री प्रकाशित भइरहेका छन्।
मास्टरशेफ निकै कठिन प्रतियोगिता भएको बताउने उनी पहिलो होइनन्। “मानसिक रूपमा हामी निकै बलियो हुनुपर्छ। समयको ख्याल गर्नुपर्छ अनि तीव्र दबावमा काम गर्नुपर्छ। म प्रत्येक चोटि प्रस्तुत हुँदा निकै अभ्यास गरेर आउँछु,” उनले भने।
“अनि त्यसपछि क्यामराको दबाव हुन्छ र निर्णायकहरू पनि कडा हुन्छन्। हरेक चरणपश्चात् प्रतियोगिता झन्झन् प्रतिस्पर्धात्मक भइरहेको छ।”
सन् २००८ र २०१८ मा सन्तोष शाह
‘म जोखिम वहन गर्न रुचाउँछु’
सन्तोष शाहको जन्म सिराहा जिल्लाको कर्जन्हा गाउँमा भएको थियो। उक्त गाउँ भारतसँगको सिमानानजिकै पर्छ।
उनका दुई दिदी अनि पाँचजना दाजुहरू छन्। उनी पाँच वर्षको हुँदा उनका पिता बितेका थिए। दश वर्षको उमेरमा पकेटखर्च जुटाउन उनले स्थानीय मेलाहरूमा प्लास्टिकका झोला र अन्य सामग्री बेचेको सम्झन्छन्।
“साथीहरूसँग मिलेर म सात किलोमिटर पैदल हिँडेर गई पाउरोटी किनेर ल्याउँथे अनि मेलामा बेच्थेँ,” उनले भने। “मेरो जिल्लामा नहर बनाउने आयोजनामा मैले मजदुरी पनि गरेँ।”
भिडिओ क्याप्शन सुरु हुँदैछ,
सन्तोष शाह भन्छन्, ”नेपाली खानालाई हेला नगरौँ, यहाँको खानाले संसारभरि तहल्का मच्चाउन सक्छ।”
पन्ध्र वर्षको उमेरमा उनले १० कक्षासम्म पढे तर एसएलसीमा सफल हुन सकेनन्।
“म कामको खोजीमा साथीहरूसँगै भारतको गुजरात राज्यतिर गएँ।”
अहमदाबाद सहरको स्थानीय रेस्टुराँमा उनले भाँडा माझ्ने काम पाए।
सधैँ सिक्न उत्सुक सन्तोष शाहले एकपछि अर्को प्रगति गर्दै गए। अन्य होटलहरूमा काम गरे, अङ्ग्रेजी सिके अनि होटल व्यवस्थापनमा डिप्लोमा पनि गरे। सात वर्षको अन्तरालमा उनी एउटा पाँचतारे होटलको ‘कार्यकारी शेफ’ बन्न पुगे।
आफूले आयोजना गरेको एउटा खाना उत्सवले भारतमा चर्चा पाएपछि उनको नाम पनि फैलियो। लगत्तै लन्डनस्थित एक गुजराती व्यापारीले उनलाई काम गर्न बोलाए। कामको अनुमति, हवाई भाडा तथा अन्य खर्च ती व्यापारीले बेहोरेपछि सन्तोष सन् २०१० को अन्त्यतिर लन्डन गए।
सन्तोष शाहले बनाएको परिकार
तर त्यो उनले चाहेको जस्तो राम्रो रेस्टुराँ थिएन। त्यो काम उनले छोडे र यूकेमा चर्चा बटुल्दै गरेको डिशुम नामक भारतीय चेन रेस्टुराँ जोडिन पुगे। पछि उनले लन्डनमै बनारस तथा होटल ललितमा काम गरे।
“म जोखिम वहन गर्न रुचाउँछु,” सन्तोष शाह भन्छन्। एक पटक उनले राम्रै आम्दानी भइरहेको काम छोडेर सेलेब्रिटी शेफले चलाएको फ्रेन्च रेस्टुराँमा गए।
“त्यो राम्रो सिक्ने अवसर रह्यो। तर म फेरि भारतीय रेस्टुराँमा फर्किएँ।”
हाल उनी सिनामन कलेक्शनमा प्रमुख शेफ तथा साफ्रन सर्कल यूकेमा कार्यकारी शेफको काम गरिरहेका छन्।
‘प्रभावित पार्न म सक्दो कोसिस गर्नेछु’
नेपालका उत्कृष्ट खानाहरू पस्किएर ३५ वर्षीय सन्तोषले मास्टरशेफका निर्णायक तथा दर्शकहरूको मन जितिरहेका छन्।
“मेरो निम्ति मास्टरशेफ प्रतियोगिता एउटा जीवन बदल्ने अवसर बनिरहेको छ। म अझै सिक्नेछु तथा विश्वका खानाप्रेमीहरूका निम्ति अनुपम नेपाली खानाहरूको प्रयोग गर्नेछु,” उनले भने।
“यूकेमा रहेका नेपाली समुदाय अनि नेपालमा पनि सन्तोष निकै चर्चित भइसकेका छन्,” लन्डनस्थित होली काउ रेस्टुराँ तथा टेकअवे चेनका मालिक कुल आचार्यले भने।
“यूके मा दक्षिण एशियाली समुदाय निकै स्थापित भइसकेको छ। तर पनि एकजना नेपाली शेफ मास्टरसेफको फाइनलमा पुग्नु असाधारण नै हो।”
मास्टरशेफका प्रतियोगिता नेपालमा सोझै हेर्न सकिँदैन। तर धेरै नेपालीले सन्तोष शाहलाई सामाजिक सञ्जालमा पछ्याउँछन् र यूट्यूबमा शो हेर्छन्।
उनलाई नेपालका अर्बपति व्यापारी विनोद चौधरी, र न्यूयोर्कस्थित सेलेब्रिटी फ्याशन डिजाइनर प्रबल गुरुङसहित धेरैले बधाई सन्देश दिएका छन्।
यो साताको नतिजा जस्तो आए पनि सन्तोष शाहको भविष्य थप उज्ज्वल देखिन्छ।
लन्डनको मुटुमा एउटा नेपाली रेस्टुराँ खोल्ने विषयबारे हालै उनले सम्भावित लगानीकर्ताहरूसँग कुराकानी गरेका छन्। “पहिले त उनीहरूले खासै रुचि देखाएका थिएनन्। तर मास्टरशेफमा म छनोट भएपछि भने उनीहरूले मलाई चाँडोभन्दा चाँडो कुराकानीका निम्ति डाकेका छन्।”
हालसम्म अविवाहित यी नेपाली युवकका सामु अर्को पनि एउटा प्राथमिकता छ।
“यदि मैले खोजेको साथी भेट्टाएँ भने अर्को वर्ष बिहे गर्ने सुर छ। सायद यो सही समय पनि होला।”
तत्कालका निम्ति भने उनको ध्यान मास्टरशेफको फाइनलमा केन्द्रित छ।
“नेपाली खाना पस्किने यो एउटा दुर्लभ अवसर हो। निर्णायकहरूलाई प्रभावित पार्न म सक्दो कोसिस गर्नेछु।”
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान