डिसेम्बर 24, 2024

शुक्रबार राति जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

 750,069 total views,  488 views today

मङ्सिर २०, हुम्ला

सिमकोट गाउँपालिका-७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका-७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका-१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए ।

दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट-२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट-६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट-८ खोल्सिका कल्पना सिंह, सिमकोट-८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट-८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका-१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ । बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताए । अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ । (रासस)