भारतको दक्षिणी सहर बेङ्गलुरुमा २२ वर्षीया दीशा रवि वातावरण संरक्षणको कार्यमा संलग्न स्थानीय नागरिकबीच परिचित थिइन्।
उनले ताल सफा गर्नेदेखि वृक्षारोपण कार्यमा सघाउनुका साथै प्लास्टिक प्रयोगको विरोधमा आवाज उठाउँदै आएकी थिइन्।
जनावरप्रेमी उनी भीगन हुन् र परिवारमा आयआर्जन गर्ने उनी एक मात्रै सदस्य हुन्।
जलवायु अभियानकर्मी ग्रेटा टून्बेर्गले सुरु गरेको विश्वव्यापी अभियान ‘फ्राइडे फर फ्युचर’को स्थानीय शाखाकी संस्थापकमध्ये रवि एक हुन्।
पानी पर्दा सजिलै बाढी आउने क्षेत्रमा बसोबास गर्ने उनी जलवायु परिवर्तन बारे सधैँ चिन्ता गर्थिन्। उनको बुझाइमा बेङ्गलुरुमा पछिल्ला दिनहरूमा तीव्र वर्षा र बाढीका घटना देखिइरहेका थिए।
त्यहाँ १३ वर्षदेखि बसिरहेकी उनले उक्त सहरमा पछिल्ला केही वर्षहरूमा जस्तो तीव्र गतिमा वर्षा भएको कहिल्यै महसुस गरेकी थिइनन्।
उनका साथी अनि सहकर्मीहरूले उनलाई कानुनको पालना गर्ने अभियानकर्मीका रूपमा व्याख्या गर्छन्।
हालसालै मात्र वृक्ष संरक्षणसँग सम्बन्धित अभियान चलाउनुअघि उनले प्रहरीबाट अनुमति लिएकी थिइन्।
“हामीले वातावरण संरक्षणसम्बन्धी विभिन्न अभियानका क्रममा कुराकानी गरेका छौँ। मैलै सधैँ याद गरेको कुरा के हो भने उनले कहिल्यै कानुनको उल्लङ्घन गर्थिनन्,” अधिकारवादी तारा कृष्णास्वामीले भनिन्।
गत सप्ताहान्तमा कृषि क्षेत्रमा सुधारसम्बन्धी नयाँ कानुनको विरोध गर्न किसानहरूलाई सहयोग गर्ने दस्तावेज इन्टरनेटमा फैलाएको भन्दै रविलाई पक्राउ गरियो।
प्रहरीले उक्त दस्तावेज बनाउने अनि त्यसको प्रचार गर्ने विषयमा उनी “मुख्य षड्यन्त्रकर्ता” रहेको बताएको छ।
किसानहरूलाई सहयोग गर्न उपायहरू समावेश गरिएको “टूलकीट” भनिने एक दस्तावेज टून्बेर्गले ट्वीट गरेकी थिइन्।
“उक्त आह्वान भारतविरुद्ध आर्थिक, सामाजिक, सांस्कृतिक अनि क्षेत्रीय युद्ध गर्नु थियो,” प्रहरीले भनेको छ।
उनीहरूले रविले ‘भारत राज्यविरुद्ध असन्तुष्टि फैलाउन’ पृथक्तावादी समूहहरूसँग ‘सहकार्य’ गरेको आरोप लगाएका छन्।
राजद्रोह र षडयन्त्रको आरोप लगाइएकी रविले अदालतमा रुँदै आफूले उक्त दस्तावेजको दुई वाक्य मात्रै सम्पादन गरेको बताएकी छन्।
तर प्रहरीले भने उनले नै टून्बेर्गलाई त्यो दस्तावेज पठाएको र ‘झुक्किएर’ त्यो सार्वजनिक भएपछि हटाउन भनेको आफूहरूको विश्वास रहेको बताएको छ।
अदालतले उनलाई प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ। रविको पक्राउले धेरै भारतीयहरूलाई आश्चर्यमा पारेको छ।
विपक्षी दलको नेतृत्वमा रहेको दिल्लीका मुख्यमन्त्रीले उनको गिरफ्तारीलाई ‘प्रजातन्त्रमाथि अभूतपूर्व हमला’को संज्ञा दिएका छन्।
एक पत्रकारले ‘सरकारको विरुद्धमा धारणा राख्ने कुरालाई संयोजन गर्न सार्वजनिक रूपमै राखिएको दस्तावेज सम्पादन गर्नु कसरी राजद्रोह हुन सक्छ’ भन्दै आश्चर्य व्यक्त गरेका छन्।
अर्का पत्रकारले ट्विट गरेका छन्: “सन्देश स्पष्ट छ। आफ्ना बालबालिकाहरूलाई बन्द गर। उनीहरूलाई विरोध गर्नबाट रोक, होइन भने हामी रोक्ने छौँ।”
एक भिडिओ अन्तर्वार्ताका क्रममा रविले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसक नरहेको स्पष्ट पारेकी थिइन्।
“मोदीले आफूले गरेका सबै कार्य राम्रा छन् भनेर सबैलाई विश्वास दिलाएका छन्। उनको शासनबारे प्रश्न उठाउन सकिने धेरै कुराहरू छन्। त्यो समान अधिकारबारे मात्रै नरहेर वातावरणसम्बन्धी अधिकार वा मानव अधिकारका विषयमा छन्।”
“मलाई थाहा छ मेरा अभिभावकले उनको समर्थन गर्छन्।” बीबीसी