डिसेम्बर 23, 2024

आज २६औं जनयुद्ध दिवस

 749,281 total views,  232 views today

काठमाडौँ – तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ । २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२–६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो । जनयुद्धको अवधिमा राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीले ज्यान गुमाएका थिए । २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भएको छ । शीर्ष नेतृत्व नै तितरवितर भएका छन् । प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टी र साविक नेकपा एमालेबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विभाजित भएको छ । जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष बन्नुभएको छ । मोहन वैद्यले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द विप्लवले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहनुभएको छ । विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ । नेकपा प्रचण्ड–माधव समूहले दिवस मनाउन देशभर सर्कुलर जारी गरेको छ भने ओली समूहले भने कार्यक्रम राखेको छैन ।