डिसेम्बर 23, 2024

संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुखद्धारा दायर मुद्धामा आज सुनुवाइ हुँदै

 749,321 total views,  272 views today

काठमाडौँ – संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमथि आज सुनुवाइ हुँदै छ । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गर्नुभएको थियो । सो रिटको सर्वोच्च अदालतले आज पेसी तोकेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ ।
रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुख सहित ३२ जना सबैलाई विपक्षी बनाइएको छ । संसदीय सुनुवाइ हुन नसकेको भन्दै सभामुख सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्मै फिर्ता पठाउनुभएको थियो । त्यसका बाबजुद राष्ट्रपतिले नियुक्ति गरेपछि सभामुख आँफै रिट लिएर सर्वोच्च अदालत जानुभएको थियो । आफूले कागजात फिर्ता गरेपछि संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदाहुँदै नियुक्ति गरिनु संविधान विपरित भएको सापकोटाको दाबी रहेको छ ।