काठमाडौँ – आज प्रदेश १ सभा बैठक बस्दै छ । गत माघ ७ गते सुरु भएको प्रदेशसभा बैठक १९ दिन पछि बस्न लागेको हो । प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाहेक विजेनस नभएकाले प्रस्ताव टेवल हुने निश्चित भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेवल हुन नदिने रणनीतिमा नेकपा ओली पक्ष रहेको छ । ओलीपक्ष आजको बैठक बस्नै नदिने रणनीतिमा देखिएको छ । नेकपा औपचारिक रुपमा विभाजन नभएकाले प्रदेशसभाको बैठकको औचित्य नभएको नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।
प्रदेशसभा बैठक चल्न मुख्यमन्त्री राईले निलम्वन गरेको कारकाही कार्यन्वयन हुनुपर्ने नभए नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म पर्खनुपर्ने राजभण्डारीको तर्क रहेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेकाले कसैलाई कुनै किसिमको कारकाही गर्न नपाइने नेकपा दाहाल–नेपालपक्षका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले बताउनुभयो । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कुनैपनि हालतमा प्रदेशसभा बैठक रोक्न नहुने बताउनुभयो । अविश्वासको प्रस्ताव संसदमा टेवल भएपछि कांग्रेसले निर्णय गर्ने उहाँले बताउनुभयो ।