डिसेम्बर 24, 2024

बाग्मती प्रदेशसभाको बैठक स्थगित

 749,603 total views,  22 views today

काठमाडौँ – बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । बैठक विशेष कारणले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको थियो । तर, आइतबार राति बैठक स्थगित भएको सूचना टाँसिएको थियो ।
पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको बैठकमा टेबुल गरिएको थियो । अविश्वास प्रस्तावका विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । अविश्वासको प्रस्ताव दर्ता गराएको नेकपाको दाहाल–नेपाल पक्षले प्रदेशसभा बैठक स्थगित गरिएको विषयमा पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।