Site icon States Khabar

म्यानमारकी नेतृ सुकी सेनाद्वारा गिरफ्तार

काठमाडौँ – म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूचीसहित नेतालाई सेनाले गिरफ्तार गरेको छ । एनएलडीका प्रवक्ता म्यो न्यूनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेतृ सूचीसँगै अन्य वरिष्ठ नेतालाई सोमबार बिहानै सेनाले गिरफ्तार गरेको जनाएको छ । सेना र सरकारबीच तनाव चलिरहेका बेला सूचीसहितका नेताहरू पक्राउ परेका हुन् । गत नोभेम्बरमा भएको चुनावमा सुचीको एनएलडीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो । सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो ।
नेतृ सूचीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो । गत नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूचीसहितका नेता पक्राउ परेका हुन् । सूचीसहित प्रजातन्त्रवादी नेताहरू पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । राजधानीसहितका प्रमुख शहरहरुमा ठूलो संख्यामा सैनिक तैनाथ भएको बिबिसीले जनाएको छ ।

Exit mobile version