749,362 total views, 313 views today
माघ १८, ताप्लेजुङ
लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे (रेडपाण्डा) संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ।
हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययनअध्यापन गर्दै आएको हो।
हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रेका विषयमा पठनपाठन भइरहेको रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए।
कक्षा ६ र ७ मा पठनपाठन सुरुआत गरिएको हो। विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उनले बताए।
ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ।
कक्षा ६ को पुस्तकमा संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ।
कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका छन्।
ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ।
लोपोन्मुख रातो हाब्रेको संरक्षण २०६३ देखि हुन थालेको हो। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब २०० को हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ।
इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रातो हाब्रे संरक्षण गर्दै आएका छन्।
रातो हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने गर्दछ।
विशेषगरी बाँसका पात र तामा खाने गर्दछ। रातो हाब्रे नेपाल, चीन, म्यानमार, भुटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको मञ्चका सचिव विवश केदेमले जानकारी दिए। दुई हजार ५०० को हाराहारीमा रातो हाब्रे हुन सक्ने उनको भनाइ छ।
यो एक हजार ८०० देखि चार हजार ८०० मिटर उचाइका क्षेत्रमा पाइने गर्छ। खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जंगल क्षेत्रमा बासोबास गर्ने गर्दछ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले रातो हाब्रेलाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ।
विभिन्न कारणले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ। यसको प्राकृतिक बासस्थान निरन्तरको विनाश, निगालो र बाँसजन्य जंगल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरीशिकारी, डढेलोलगायतका कारण हाब्रेका लागि चुनौती बनिरहेका छन्।
तीव्ररूपमा भइरहेको वनजंगलको विनाश र अवैध चोरी–शिकारीको कारणले गर्दा हाब्रे संकटमा परिरहेको छ।
हाब्रेको शिकार निषेधित भए पनि तस्करले यसको लुकीछिपी शिकार गर्ने गर्छन्।
नेपालले पनि हाब्रेलाई संरक्षित जीवको रूपमा सूचीकृत गरेको छ।
सरकारको पछिल्लो सर्वेक्षणले रातो हाब्रे (रेडपाण्डा) २३ जिल्लामा पाइने यकिन भएको छ। रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको पहिचान गरेको छ।
ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालीकोटमा हाब्रेको उपस्थिति रहेको देखिएको छ। रासस
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान