Site icon States Khabar

नेपालमा भ्रष्टाचार झन् बढ्को तथ्यांक सार्वजनिक

काठमाडौँ – नेपालमा भ्रष्टाचार झन् बढेको तथ्यांक सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स–२०२० ले नेपालमा भ्रष्टाचार बढेको देखाएको हो । भ्रष्टचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा पुगेको हो । यसअघि सन् २०१९ को प्रतिवेदनमा नेपाल ३४ अंकसहित ११३ औं स्थानमा थियो । १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यूनस्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ ।
यस्तै, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ । राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनसहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने जनाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो श्रेणीमा डेनमार्क र न्युजिल्यान्ड छन् । ती देशले ८८ अंक पाएका छन् । त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुनेमा साउथ सुडान र सोमालिया छन् । उनीहरूले ९ अंक पाएका छन् । दक्षिण एसियामा भने सबैभन्दा कम भुटान र बढी भ्रष्टाचार अफगानिस्तानमा हुने देखाएको छ ।

Exit mobile version