माघ १५, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ।
साउन २० देखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु हुँदै आएकोमा पछिल्लो २४ घण्टामा पहिलाे पटक मृत्यु हुनेकाे संख्या शून्य भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार २० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट थप २९६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २०३ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।