काठमाडौँ – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज शपथ लिँदैछन् । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ । शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथग्रहण समारोहअगाडि हिंसा हुन सक्ने बताउँदै आएको छ ।
अमेरिकी संसद् भवन क्यापिटल आसपास र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको छ । ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ । सबै राज्यका संसद् भवनमा सुरक्षा सतर्कता अपनाइएको सिएनएनले जनाएको छ । शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ । बाइडनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ । शपथ ग्रहणपछि बाइडनले समारोहलाई सम्बोधन गर्नेछन् ।