डिसेम्बर 24, 2024

आगामी निर्वाचनमा चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधिहरू रोक्ने खालका योजना कडाइका साथ लागु गर्न निर्देशन

 750,064 total views,  483 views today

माघ ४, सुर्खेत

जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीमा सहभागी हुँदै गृहसचिव महेश्वर न्यौपानेले अराजक गतिविधिलाई रोक्‍नेगरी सुरक्षा योजना बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

सुर्खेतसँग सीमा जोडिएका तीन प्रदेशका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आगामी निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधिहरू रोक्ने खालका योजना कडाइका साथ लागु गर्न निर्देशन दिइएकाे छ । चन्द नेकपाका हरेक गतिविधिहरू कडाइका साथ रोक्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जिल्ला अधिकारी हिरालाल रेग्मी रेग्मीको भनाइ छ ।

गृहसचिव न्यौपानेले चन्दका हरेक गतिविधि पूर्ण रूपमा रोक्नेगरी मिसन बनाएरअघि बढ्न निर्देशन दिएका छन् । ‘शान्ति सुरक्षा कायम गर्न र नागरिकहरूको जिउ धनको रक्षार्थ कुनै कसर बाँकी नराख्‍न उहाँले निर्देशन दिनुभएको छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘राजमार्ग अवरुद्ध हुने खालका घटनालाई रोक्नको लागि निर्देशन दिनुभएको छ ।’

त्यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले शान्ति सुरक्षालाई विशेष महत्वका साथ राख्‍न, अवान्छित गतिविधिमाथि निगरानी गर्न निर्देशन दिएको बताए ।

सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, कर्णाली प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी थिए ।

न्यौपानेले जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्याशसमेत गरेको छन् । त्यसैगरी सुर्खेत स्थित कारागार भवनको पनि निरीक्षण गरेका थिए ।