काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिति बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको छ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित भएको छ । उक्त कदम असंवैधानिक भएको भन्दै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । बैठकमा प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचीसमेत रहेको छ । यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने तय गरिएको छ ।