पुष २१, बानेश्वर
ओलीलाई कमयुनिष्ट पार्टी मन नपर्ने भन्दै ओलीको अधिनायकवादी प्रवृत्ति नसच्चिदासम्म प्रति संघर्ष जारी राख्ने नेकपा दाहाल – नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
जनता समाजवादी पार्टीले मंगलबार बानेश्वरमा आयोजना गरेको एक कार्यक्रममा बाेल्दै उनले आफू वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा दुई तिहाइ केन्द्रीय सदस्यहरूबाट चुनिएर सर्वसम्मत अध्यक्ष भएको समेत बताए ।
‘म वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा दुई तिहाइ केन्द्रीय सदस्यहरुले सर्वसम्मत चयन गरेको अध्यक्ष हुँ,’ नेपालले भने, ‘हामी नै आधिकारिक हौँ । दुई तिहाइ सदस्य भएको आधिकारिक हुन्छ कि, अल्पमतको, त्यो तपाईहरू आफै भन्नुस ।’
ओलीले नेतृत्व गरेको गुट नेकपा नभएको भन्दै नेपालले ओलीलाई माया लागे नेकपा (ओली गुट) भन्न आग्रह गरे ।
‘ओलीलाई हामीले अनुशासनको कारबाही गरेका हौ । संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो । संस्थागत निर्णयका आधारमा अगाडि बढ्नुस् भनेर पटक-पटक भन्दा नमानेपछि कारबाहीको विकल्प रहेन,’ नेता नेपालले भने, ‘त्यसपछि अनुशासनको कारबाही गरेर पार्टीबाट बर्खास्त गर्यौ ।’