Site icon States Khabar

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आज विरोध प्रदर्शन गर्दै

काठमाडौँ – आज प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदर्शनपछिको आमसभामा अध्यक्षद्धय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र जनविरोधी कदमको विषयमा स्पष्ट पार्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सभामा ५० हजार मानिस सहभागी हुने श्रेष्ठको दाबी छ । सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने भएका छन् ।
उपत्यका विभिन्न ठाउँबाट निकालिएको जुलुस मध्यान्ह १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय संघर्ष समितले जनाएको छ । स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेश भट्टराई र अमृतकुमार बोहराले जुलूसको नेतृत्व गर्ने बताइएको छ । नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

Exit mobile version