पुष ११, काठमाडौँ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदम विरुध्द पुस १३ गते प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् ।
उनले शनिबार विज्ञप्ति जारी गर्दै सबैमा सक्रिय सहभागिताका लागि त्यस्तो अपिल गरेका हुन् ।
कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तयारी गरेकाे छ ।
‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,’ देउवाद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएकाे छ’ पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुध्द ऐक्यबध्दता प्रकट गर्न अपिल गर्दछु ।’
देउवाले विघटनकै दिन पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरूको बैठकबाट विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख गर्नुका साथै संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुध्द कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको भनाइ अभिव्यक्त गरेका थिए ।