काठमाडौँ – आज नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकले संसदीय दलको नेता तोक्ने बताइएको छ । प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई तोक्ने तयारी रहेको छ ।
प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल पक्षले संसद विघटन असंवैधानिक भएको भन्दै संसद पुनःस्थापनाका लागि आवश्यक रणनीति तय गर्न संसदीय दलको बैठक डाकेको बताइएको छ ।