पुष ५, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्ने तय भए पनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे उपस्थिति हुने नहुने ठगान भएकाे छैन् ।
शनिबार राजनीतिक भेटघाटमा व्यस्त रहेका अाेली बैठक अगाडि कुनै सहमति भए मात्र उपस्थित हुन सक्ने बुझिएकाे छ ।
ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुलमटार पुगे पनि कुनै ठोस सहमति भने भएको छैन ।
उनले दाहाललाई स्थायी कमिटीमा पेश भएको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए भने दाहालले सबै कुराको छिनोफानो स्थायी कमिटीले गर्ने अडान राखेका थिए ।
ओलीले हिजै सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई उनकै सरकारी निवास पुल्चोकमा गएर भेटेका थिए । सहमतिका लागि भूमिका खेल्न थापालाई ओलीले आग्रह गरेको स्रोतले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीले हिजै नेताहरुसँगको भेटवार्ता सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए ।
आजको बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । यद्यपी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सहभागी नभए बैठक अघि बढाउने की नबढाउने भन्ने विषयमा दाहाल र माधव नेपाल समूहले ठोस धारणा बनाइ सकेका छैनन् ।
प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् भने दाहाल नेपाल समुह बैठकलाई विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने तयारीमा छन् ।