Site icon States Khabar

नेपाली सेनालाई ५ कराेड युअान बराबरकाे सैन्य सहयोग उपलब्ध गराउने चीनकाे घाेषणा

मङ्सिर १५, काठमाडौं
रासस

चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो।

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रमण्डलबीच जङ्गी अड्डामा आइतबार भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहाद्र्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए।

“यसअघि चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै तदनुरुप गर्दै आएको छ, कोभिड–१९ का कारण रोकिएका सैन्य सहयोगको ‘प्याकेज’ले अब निरन्तरता पाउनेछ,” विगतमा भएका द्विपक्षीय सहमति र सैन्य सहायता कार्यान्वयन तथा रोकिएका तालीम एवं शिक्षार्थी आदानप्रदानका कार्यक्रम पुनः सञ्चालन गर्न चीनले सरकारात्मक जवाफ दिएको जानकारी दिँदै ती अधिकारीले भने।

आठ घण्टाको व्यस्त कार्यतालिका पूरा गरेर इस्लामावाद प्रस्थान गर्नुअघि गृहमन्त्री रामबहादुर थापालाई आफ्नो भ्रमणबारे ‘ब्रिफिङ’ गर्दै रक्षामन्त्री वेइले प्रसन्न मुद्रामा भने, “म र मेरो प्रतिनिधिमण्डललाई प्रदान गर्नुभएको आतिथ्यताबाट म र मेरो प्रतिनिधिमण्डल ज्यादै प्रभावित भएको छ। हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ एवं उन्नत तुल्याउन मेरो भ्रमण सफल एवं सार्थक रह्यो।”

नेपालको विकास प्रक्रियामा हरसम्भव सहयोग गर्न तथा सहयोगका दायरालाई थप विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउँदै उनले विकासका प्रशस्त सम्भावना भएको नेपाललाई निकटको असल छिमेकीका नाताले सघाउन चीन तत्पर रहेको दोहोर्याएका थिए।

आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरेको र त्यसबाट आफू पूर्ण सन्तुष्ट रहेको उनले बताए।

यसैबीच परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भएका भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको र परम्परागत द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान भएको बताएको छ। दुवै भेटमा आपसी हित र चासोका विषयका साथै दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्नेबारेमा पनि छलफल भएको थियो।

चिनियाँ रक्षामन्त्रीले आफ्नो मुलुकको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताउँदै सम्बन्धित निकायहरुबाट आवश्यक सहयोग एवं सहजीकरणको अपेक्षा आफूले गरेको बताएका थिए।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा प्रधानमन्त्री ओलीबाट भएको चीनको भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता पनि भेटवार्तामा भएको थियो ।

Exit mobile version