डिसेम्बर 24, 2024

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी, ढकाल र प्रधान चुनावी मैदानमा

 749,808 total views,  227 views today

काठमाडौँ – उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भइरहेको छ । प्रज्ञा प्रतिष्ठानमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केटमा एशोसिएट सदस्य समूह र महासंघको कार्यालयमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि प्रज्ञा प्रतिष्ठानमा व्यवस्था गरिएको छ ।
बिहान ८ बजेपछि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नुहुनेछ । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने कानुनी प्रावधान छ । महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको होे । प्रधानमन्त्री केपी ओलीले भर्चुअल विधिबाट साधारणसभा उद्घाटन गर्नुभएको थियो । बन्दशत्र पनि भर्चुअल विधिबाटै गरिएको थियो । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोनाका कारण पटक–पटक स्थगित भएको थियो ।