काठमाडौँ – सरकारले देशभर आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले कात्तिकमा गर्ने गरिएको कार्यक्रम मंसिरमा सारिएको सरकारले बताएको छ । पहिलो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएकोमा यस पटक भने कोरोना संक्रमणका कारण ५ हप्ता पछि सरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका अनुसार २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाउने सरकारको लक्ष्य छ ।
कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुनेछ । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका, जुकाको औषधि एक देखि ५ वर्षसम्मका तथा बालभिटा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई दिईनेछ । कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वयंसेविका र २५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । कोरोना संक्रमणको जोखिम रहेकाले यस पटक ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई नछोइकन भिटामिन खुवाउन सरकारले महिला स्वयंसेविकालाई आग्रह गरेको छ । एक वर्ष माथिका बालबालिकालाई भने अभिभावकले घरमै लगेर भिटामिन खुवानु पर्ने सरकारको भनाई छ । सरकारले सो कार्यक्रम सञ्चालनका लागि १२ करोड रुपैयाँ छुट्याएको जनाएको छ ।