डिसेम्बर 23, 2024

छठ पर्वले समतामूलक समाज निर्माणमा प्रेरणा दिने राष्ट्रपति भण्डारीको विश्वास

 749,151 total views,  102 views today

काठमाडौँ ( राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गर्नुभएको छ । छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले नेपालीहरुकाबीच आपसी सदभाव र राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारी कोरोनाको जोखिमका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन् । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी छठ पर्वको कुनै कार्यक्रममा सहभागि नहुने जानकारी दिएको हो । राष्ट्रपति भण्डारीको विगत वर्षमा काठमाडौंका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेको थियो ।।