काठमाडौँ – नेपाली हिन्दु धर्मालवम्बीको दोस्रो महान् चाड तिहार शुरु भइसकेको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार शुरु भएपछि शुक्ल द्वितीयामा भाइटीका लगाउने पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन कागको पूजा गर्ने परम्परा रहेको छ । हिन्दु संस्कृतिमा कागलाई सन्देशवाहक पक्षीको रूपमा लिइन्छ । बालीनालीमा लाग्ने किराफट्याङ्ग्रा खाइदिएर यसले कृषकलाई समेत ठूलो गुण लगाएको हुन्छ । मृत्युदेव यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर कागको पूजा गर्ने परम्परा चलेको हो ।
यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा गर्ने परम्परा रहेको छ । कुकुर आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अध्ययन–अनुसन्धान प्राकृतिक विपत्तिमा पूर्वसूचना दिन प्रभावकारी मानिन्छ । त्यसैले तिहारमा कुकुरलाई मनपर्ने खाना ख्वाई पूजा गरिन्छ । तिथिको घटबढका कारण यो वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
तेस्रो दिन धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीकका रुपमा लक्ष्मीको पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको अँध्यारो रातमा घरघरमा दीपावलीसहित लक्ष्मीको पूजाआराधना गरिन्छ । कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश लक्ष्मीपूजाले दिने बताइन्छ । तिहारको चोथौ दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई पूजा गरिन्छ । यसैदिन कृषकको सहायक पशु गोरूको पनि पूजा गर्ने प्रचलन रहेको छ । तिहारको अन्तिम दिनलाई भाईटीकाको संज्ञा दिइएको छ । दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै दिदीबहिनीले निधारमा सप्तरंगी टीका लगाइदिएपछि तिहार समापन हुन्छ ।