Site icon States Khabar

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय-ग्लोबल टाइम्सको प्रतिक्रिया प्रति असन्तुस्टी

कार्तिक २९ , काठमाडौँ
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले चिनियाँ आधिकारीक मुखपत्र ग्लोबल टाइम्समा नेपाली कांग्रेसलाई भारतीय पार्टी भनेर लेखेको भन्दै निन्दा गरेको छ ।

बैठकका निर्णयहरु सुनाउँदै कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताउनुभयो ।

उहाँले कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डताका प्रति समर्पित भएको र चीन मात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने बताउनुभयो ।

यो विषयमा दुई देशका संयुक्त टोलीले एतिहासिक तथ्यहरु, भोगचलनको तथ्यहरु, सीमा स्तम्भको स्थिति सबैको मुल्याङ्कन गरेर निक्र्यौलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

यसबाहेक बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एकता प्रक्रियामार्फत आउनुभएका सुनिल बहादुर थापा लगायतसँग भएको समझदारी अनुसार सहमहामन्त्री एवं केन्द्रीय सदस्य लगायतका पदहरु दिने निर्णय पनि गरेको छ ।

यससँगै सुनिबलबहादुर थापा कांग्रेसको सहमहामन्त्री बन्नुभएको छ । यस्तै कोभिड संक्रमणका कारण देश आक्रान्त भएको अवस्थामा पनि सरकार बेखबर देखिएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै जनताको उपचारको हकलाई नजरअन्दाज नगर्न बैठकले माग गरेको छ । कृतिम अभाव, महँगी, कोभिड संक्रमणबाट जनता आक्रान्त भएको अवस्थामा जिम्मेवार बन्न सरकारसँग माग गरिएको पनि सहमहामन्त्री महतले बताउनुभयो ।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएका समस्याहरुमा सैद्धान्तिक सहमति भएको बताउनुभयो । पार्टीलाई विधिसम्बत, विधानको पद्धतिका आधारमा क्रियाशिल सदस्य वितरण गर्ने सहमति भएको पनि बताउनुभयो ।

यस्तै तिहार लगत्तै कार्यसमिति बैठक बसेर सबै मुद्दाहरुमा छिनोफानो गर्ने कुरामा सहमति भएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

Exit mobile version