Site icon States Khabar

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ जना गम्भीर घाइते

कार्तिक २८, बैतडी

बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। गन्नादेखिमहेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए ।

दुर्घटना भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट प्रहरी टोली उद्धारमा खटिएका थिए। रातिको समयमा दुर्घटना भएकाले उद्धारमा केही कठिनाइ भएको थियो।

चालक र सहचालक दुवै घाइते भएका कारण दुर्घटना कसरी भएको भन्ने केही खुलिसकेको छैन।

डिएसपी अधिकारीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Exit mobile version