कात्तिक २७, काठमाडौँ
नेकपा सचिवालय बैठक प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालपक्षका लागि प्रतिष्ठाको विषय बनेको छ । प्रचण्ड-नेपाल पक्ष आजका लागि बोलाइएको बैठकलाई औपचारिक बनाउने तयारीमा छ भने ओली पक्ष मान्यता नदिने पक्षमा देखिएको छ । ओली सहमतिका लागि तयार नभएको भन्दै सचिवालय बैठकबाट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर अघि बढ्ने प्रचण्ड-नेपाल पक्षको रणनीति छ । तर, प्रधानमन्त्री ओलीले बहुमतको औपचारिक बैठक बसे कडा कदम चाल्ने चेतावी दिँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले एक-दुई दिनकै बीचमा महासचिव विष्णु पौडेललाई औपचारिक बैठक बोलाउन निर्देशन दिइसकेकाले बेग्लै बैठकबाट अगाडि बढ्ने या सहमतिकै बैठकमा रणनीतिसहित प्रस्तुत हुने भन्नेमा प्रचण्ड-नेपाल पक्ष अन्योलमा देखिएको छ ।
एक महिनादेखि कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले लगातार छलफल गर्दै आउनुभएको छ । स्थायी कमिटी बैठकको निणर्य कार्यान्वयन, कोभिड- १९ नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदम, कणर्ाली प्रदेशको विवाद समाधान, भारतीय गुप्तचर प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, पर्साको विन्दाबासिनीमा पार्टीकै संरक्षणमा भएको कार्यकर्ता मुकेश चौरसियाको हत्यालगायतका विषयमा उनीहरूले छलफलको माग गरेका छन् । बहुमतका आधारमा ओलीलाई पुराना निणर्य कार्यान्वयनमा बाध्य बनाउने, नमाने दुईमध्ये एक पदबाट हटाउने तहसम्म प्रचण्ड-नेपालपक्षले गृहकार्य गरेका छन् ।