Site icon States Khabar

तिम्रो संस्कारले मलाई थोपरेको मनोसामाजिक असरहरुको जीम्मेवारी कस्ले लिन्छ?

पहिलो पटक महिनावारी हुँदाको अनुभव सम्झदा एकदमै नरमाईलो लाग्छ। अघिल्लो दिन विद्यालयमा नै सुरुभएका महिनावारीका लक्षणहरु न कसैलाई सुनाउने आँट आयो, न त त्यो १२ बर्षको उमेरमा आँफै बुझ्ने चेतना नै थियो। महिनावारी भएको रात पनि कसैलाई सुनाउने हिम्मत जुटेन। भोलीपल्ट बिहान मम्मीले चिया पकाउन लाग्दै गर्दा छेउमा टुसुक्क बसेर “मम्मी मलाई पनि भएन” भन्न सम्म आँट आयो, त्यसपछि अघिल्ला दुई दिन देखि मनमा दबेर रहेका सबै डरहरु आँसु बनी बगे।

त्यो बेलासम्म मलाई आफू भन्दा ठूला कसैले पनि यस सम्बन्धमा केहि ज्ञान दिएका थिएनन्। विद्यालयमा स्वास्थ्य तथा शारिरीक विषय पढाई त हुन्थ्यो तर शिक्षकहरुले त्यस बिषयमा न खुलेर पढाउनुभयो, न त म सँग नै प्रश्न गर्नसक्ने कुनै ‘साहस’ थियो। “यो च्यापटर सजिलो छ, आफैँ पढ” मैले बिद्यालयहरुमा पाएको यौन तथा प्रजनन् शिक्षा यहि थियो।

आफ्नै शारिरीक प्रकृयालाई लज्जाको विषय मानेर कक्षामा केहि केटाहरुले सोध्ने ‘उच्छृंखल’ प्रश्नमा टाउको निहुराएर हास्नु नै त्यसबेलाको प्रजनन् शिक्षा थियो। त्यसैले पहिलो पटकको महिनावारी बाल्यकालको हाउँगुजी भन्दा कम डरलाग्दो थिएन। विद्यालय वा अभिभावकवाट यौन तथा प्रजनन् शिक्षा नपाएर आफ्नै शारिरीक प्रक्रियासँग डराएको समयमा मेरा जस्तै लाखौं बालिकाहरुको मनोविज्ञानमा परेको असरको कुनै हिसाब छैन।

महिला भएकै कारण मैले यता विभेद भोगिरहँदा, उता कुनै महिलालाई नै ‘देवी’ मानेर पुजा गरिँदै थियो। म मानविय ब्यवहारबाट बञ्चित हुँदै गर्दा मेरै प्रजातीको महिमा गाइँदै थियो। 

त्यो दिन राती आफ्नु शरिरबाट रगत बगिरहेको छ भन्ने थाहा हुँदा त्यो रगत सँग भन्दा बढी डर “अब अरुको घरमा बस्न जानुपर्छ” भन्ने कुराको लागेको थियो। मेरा अभिभावकले मलाई आफन्तको घरमा बस्न पठाउनुभएन, तर जुन ‘बार्ने’ परम्परा छ त्यसलाई नकार्न सक्नुभएन। त्यसको ठिक चारदिन पछि सरस्वती पूजा थियो। स्कुल पढ्दाको सबैभन्दा ठुलो, बेग्लै उत्साह र उमङ्गको चाडपर्व झै लाग्थ्यो त्यो दिन।

तर मलाई पहिलो पटक सरस्वती पुजा गर्न दिईएन। भोलिपल्ट सबै साथीहरु सरस्वतीको मुर्ति सेलाउन गए तर म जान पाईँन। त्यतिबेला म सँग न त ‘विद्रोह’ गर्नसक्ने सामर्थ्य थियो, न त समाजको पाखण्डिपनको विश्लेषण गर्नसक्ने क्षमता।  महिला भएकै कारण मैले यता विभेद भोगिरहँदा, उता कुनै महिलालाई नै ‘देवी’ मानेर पुजा गरिँदैथियो। म मानविय ब्यवहारबाट बञ्चित हुँदै गर्दा मेरै प्रजातीको महिमा गाइँदै थियो। 

किशोरावश्थामा आफ्नो जन्म दिन मनाउन नपाउँदा होस् या दसैँका बेला सामुहिक खिचिएका तस्विरमा आफ्नो मात्र निधारमा टिका नहुँदा परेको मानसिक असरको जीम्मेवारी कसले  लिनुपर्छ? आफ्नै शरिरलाइ ‘अपवित्र’ मानेर पर बसि अरुले दिएको खानुपर्दा बाल मस्तिष्कमा परेको हिनताबोधको कहाँ अभिलेखिकरण हुन्छ?

त्यस्तै, मलाई ‘व्रतबन्ध’ गरेका पुरुषलाई नछुनु भनि सिकाइएको थियो। यसले मनमा यति डर पैदा गरेको थियो कि विद्यालयमा कुनै ब्राम्हण शिक्षकलाई छोइन्छ, र केहि भईहालेमा त्यसको ‘पाप’ आफुँले बोक्नुपर्छ भन्ने त्रास मनमा रहिरहन्थ्यो। घरमा कोहि आफन्त आएमा, म वहाँहरुबाट टाढा बस्ने गर्दथेँ।

त्यसबेला घरकाले “यसलाई नछुने भएको छ” भनि पाहुनालाई सुनाइदिदाँ लागेको लाज, डर र त्यसले मेरो बालमस्तिष्कमा पारेको प्रभाव अमिट रुपमा रहिरह्यो। त्यस्तै, किशोरावश्थामा आफ्नो जन्म दिन मनाउन नपाउँदा होस् या दसैँका बेला सामुहिक खिचिएका तस्विरमा आफ्नो मात्र निधारमा टिका नहुँदा परेको मानसिक असरको जीम्मेवारी कसले  लिनुपर्छ? आफ्नै शरिरलाइ ‘अपवित्र’ मानेर पर बसि अरुले दिएको खानुपर्दा बाल मस्तिष्कमा परेको हिनताबोधको कहाँ अभिलेखिकरण हुन्छ?

उच्च शिक्षा सँगसँगै मलाई नबार्दा केहि नहुने रहेछ, र यी सबै अन्धविश्वास हुन् भन्ने थाहा भयो। यी संस्कार होइनन् कुसंस्कार हुन् भन्ने लाग्यो। त्यसपछि मैले घरबाहिर कहिल्यै महिनावारी बारिन। अब मन्दिर जान मलाई मेरो डरले रोक्दैन थियो। कति चाडपर्वमा आफुलाई महिनावारी भएको कसैलाई सुनाइन। तर म महिला भएकै कारणले विभेदमा छु र मेरो शरिर माथि धार्मिक राजनीति भइरहेको छ भन्ने ज्ञान आइसकेको थिएन। साथसाथै, हामीलाई ‘धर्म’ माथि प्रश्न गर्ने अधिकार पनि त थिएन, ‘किन?’ मा आफुभन्दा ठुलाको उत्तर आउथ्यो “हरेक किन को उत्तर हुदैन”। हुन त अहिले पनि, हरेक राजनैतिक परिवर्तन र ‘सामाजिक रुपान्तरण’ भएपश्चात, स्वघोषित उदार संविधान भएको देशका महिलाले धर्म र परम्परा भित्रको नराम्रा पक्षहरुमा प्रश्न गर्दा भौतिक कारबाही सम्मका चुनौति आउने समाजमा छौँ हामी।  

व्यक्तिगत इच्छाका नाममा ‘पढेलेखेका’ ‘आधुनिक’ महिलाहरु नै कसरी संरचनात्मक विभेदलाई आत्मसाथ गरि आफ्नै शरिरलाई घृणा गरिरहेका छन् त्यो म बुझ्न थालेँ। तथापी, म समस्या सँग लडिरहेकी थिइन, बरू त्यसबाट भागिरहेकी थिएँ।

 विस्तारै कसरी धर्म र सँस्कारको नाममा महिलाको शरिरको दुरुपयोग भइरहेको छ, एक प्राकृतिक प्रक्रियालाई पहिले ‘धार्मिक गुरु’ र उनीहरुले लेखेका ग्रन्थका माध्यमबाट र अहिले धर्मको बजारिकरण र राजनीति गर्नेहरुबाट लज्जा, घिन, र पाप मा रुपान्तरण गरियो त्यो म बुझ्न थालेँ।

विज्ञानको साहारा लिएर कुरीतिलाई मान्य बनाउन खोज्नेसँग तर्क गर्न थालेँ। व्यक्तिगत इच्छाका नाममा ‘पढेलेखेका’ ‘आधुनिक’ महिलाहरु नै कसरी संरचनात्मक विभेदलाई आत्मसाथ गरि आफ्नै शरिरलाई घृणा गरिरहेका छन् त्यो म बुझ्न थालेँ। तथापी, म समस्या सँग लडिरहेकी थिइन, बरू त्यसबाट भागिरहेकी थिएँ। घरमा मेरो ‘विद्रोह’ ले त्यहि सामाजिकिकरण बाट हुर्कनु भएका अझ ‘ब्राम्हण’ परिवारका अग्रजहरुलाई कुन तहको मानसिक असर पर्दछ होला भनेर मौखिक रुपमा आवाज उठाएपनि भौतिक रुपमा अन्धबिश्वास चिर्न केहि गरेकि थिइँन। “ल हेरौँ के चाहिँ हुने रहेछ” भनेर वहाँहरुको खाना छोइदिने हिम्मत म मा थिएन।

रेडियो नेपालमा महिनावारी सम्बन्धी चेतनामुलक कार्यक्रम सुन्न समेत मन नपराउने र “यस्तो लाजलाग्ने कुरा रेडियोमा भन्ने के जमाना आयो” भन्दै रिसाउने राणाकालिन समयमा जन्मिहुर्की गरेकी मेरी हजुरआमाको अन्धविश्वासमा झट्ट परिवर्तन ल्याउने कुनै अस्त्र नभेटेको बेला, मलाई परेको मनोवैज्ञानिक असरको जीम्मेवारी लिने को हो?? त्यस्तै, मेरी आमा, हजुरआमाहरुलाई आजिवन आफ्नो शरिरीक प्रकृयालाई अपवित्र, लाज र घिन ठानी संकुचित भएर बाच्न बाध्य पारिँदा वहाँहरुलाई परेको मनोवैज्ञानिक असरको जवाफदेयी को हो?  

महिनाका चार दिन जब कुनै महिलाको शरिरलाई अपवित्र घोषित गरि सबै धार्मिक स्थल बन्देज गरिँदा, ऊ आफ्नो अस्तित्व माथि नै प्रश्न गर्छे, ऊ कुनै चाडपर्व, पुजाआजा वा ‘पैतृक कार्य’मा महिनावारी हुँदा “म किन महिला भई जन्मिए?” “म कास्तो अभागी रहेछु” भनि प्रकृतीलाई प्रश्न गर्छे त्यति बेला उसमा उत्पन्न मानसिक अवश्थाको जीम्मेवार को हो?

त्यसैगरि, महिनाका चार दिन जब कुनै महिलाको शरिरलाई अपवित्र घोषित गरि सबै धार्मिक स्थल बन्देज गरिँदा, ऊ आफ्नो अस्तित्व माथि नै प्रश्न गर्छे, ऊ कुनै चाडपर्व, पुजाआजा वा ‘पैतृक कार्य’मा महिनावारी हुँदा “म किन महिला भई जन्मिए?” “म कास्तो अभागी रहेछु” भनि प्रकृतीलाई प्रश्न गर्छे तेति बेला उसमा उत्पन्न मानसिक अवश्थाको जीम्मेवार को हो? उसले महिनाका चार दिन सार्बजनिक स्थलको पहूँचवाट बञ्चित हुनुपर्दा, उसको मानव अधिकार हनन भइरहँदा पनि ऊ उल्टै आफूँलाई नै दोषी ठान्छे त्यतिबेला उसलाई परेको असरहरुको भागिदार को हो?

यसरी नै म हरेक विभेदलाई प्रश्न गर्थे। म अरुलाई अन्धविश्बासी को आरोप लगाएर आफुँ आफ्नै नजरमा माथि पर्न खोज्थेँ। मेरो चेतनाको ढोका खुलेपछिका लगभग १०-१२ बर्ष यसरि नै बितिरहेका थिए। गतबर्ष छाउपडी प्रथा हटाउनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशमा महाअभियान नै भयो।

जिल्ला प्रशासन, स्थानिय तह, प्रहरी, स्थानिय व्यक्तिहरु सबै मिलेर छाउगोठ भत्काउने अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै चर्चा पायो। आश्चार्य त के भयो भने, त्यतिबेला सुदूर पश्चिम र कर्णाली प्रदेशलाई ‘असभ्य’ भन्दै सहरिया छाउ-घर र छाउ-महलमा बस्ने र बस्न बाध्य पार्नेले पनि यो अभियानको खुलेर प्रशंसा गरे। महिनावारीको समयमा हुने हरेक प्रकारको भेदभावलाई मुलुकी देवानी संहिताले नै अपराधको श्रेणीमा राखिसकेको र ३ महिना जेल, ३ हजार जरिवाना या दुबै हुन सक्ने व्यवश्था गरीसकेको अवश्था छ, तर महिनावारीको समयमा हुने बिभेद को आम बुझाई अझैपनि छाउ-गोठमा बस्नुमा सिमित भएकोले  कानुनको प्रभावकारी कार्यन्वयनमा अझै पनि ठुलो चुनौती छ।

आफुँलाई ‘सचेत’ नागरिक ठान्ने मैले पनि आजसम्म निजी या सार्वजनिक दुवै क्षेत्रमा महिनावारी सम्बन्धी हिंसा भएको देखेर वा अनुभव गरेर पनि कसैलाई कानुनी दायरामा ल्याउने प्रयास गरेकी छैन।

मैले र म जस्तै आफूँलाई सचेत भन्ने धेरैले अपराधलाई कुनै बहानामा प्रशय दिरहेको छौं। जब म यी सबै मनन् गरि आफ्नो कानुनी सचेतनामा नै प्रष्न गर्छु त्यसबेला मलाई परेको मनोवैज्ञानिक असरको हिसाब कसले चुकाउँछ?

१२ बर्षकी बालिकावाट आजसम्म आइपुग्दा, धर्म र सँस्कारका नाममा मेरै शरिरमाथी राजनीति भइरहँदा, अझ ‘प्रगतिशिल’हरुले विज्ञानका नाममा मेरो ‘बाइलोजी’लाई अपवित्र भनिरहँदा, मेरो शरिर र आत्मसम्मानलाई नियन्त्रण गरिरहँदा यी बर्षहरुका हरेक घटनाले मलाई परेको मानसिक, मनोवैज्ञानिक र भावनात्मक असरहरुको एक-एक हिसाब मैले को-को सँग माग्नुपर्ने हो?

लेखक प्रभा पौड्याल – महिला पुनर्स्थापना केन्द्र (ओरेक), उदयपुरमा कार्यरत हुनुहुन्छ ।

poudelp322@gmail.com

Exit mobile version