कार्तिक १९, काठमाडौं
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदैछन् । नरवणे नेपाली सेनाको मानार्थ महारथी सम्मान ग्रहण गर्न आउन लागेका हुन् ।
बिहीबार शीतल निवासमा एक बिशेष समारोह आयोजना गरि नरवणेलाई सम्मान गरिने नेपाली सेनाले जानकारी दिएकाे छ । उनलाई राष्ट्रपति विद्या देवी भण्डारीले मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् ।
नेपाल र भारतबिच मानार्थ महारथी सम्मान दिने चलन अंग्रेजले भारतीय भूमि उपनिवेश गर्दाखेरि देखि नै भएता पनि यसलाई भारत स्वतन्त्र भएपछि नियमित बनाइएको थियो ।
नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नेपाल अाउन लागेका हुन् । उनले नेपाल बसाईकाे क्रममा राष्ट्रपति विद्या देवी भण्डारी, रक्षमन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट गर्ने कार्यक्रम छ ।
नरवणेले यसअघि नेपाल सम्बन्धि विवादास्पद भनाइ राखेपछि उनी नेपाली समाजमा आलोचित छन् । नेपालले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि नरवणेले नेपालले चीनको इसारामा भारतसँगको सीमा विवाद निम्त्याएको बताएका थिए । नरवणेको उक्त भनाइ पछि नेपाल भारत सम्बन्धमा कटुटा थपिएको कुटनीतिज्ञहरूले बताएका थिए । विभिन्न समूहले नरवणेको यस भम्रणको विरोध गरेका छन् ।