डिसेम्बर 24, 2024

मेयर लालकिशोर साहमाथि मुद्दा दायर

 749,593 total views,  12 views today

कार्तिक १७ , जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह बिरुद्ध तीन जना पत्रकारले गाली बेइज्जती सम्बन्धी मुद्दा दायर गरेका छन ।

जनकपुरका ३ जना पत्रकारले उपमहानगरपालिकाको कार्यालयस्थित नगरप्रमुखकै कार्यकक्षमा गत वर्ष पुस २२ गते समाचार संकलनमा गएका पत्रकारहरुलाई कुटपिट गरिएको विषयमा आइतवार जिल्ला अदालत धनुषामा संयुक्त रुप मा मुद्दा दर्ता गराएका छन ।

कान्तिपुर टिभीमा कार्यरत पत्रकार एवं नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष समेत रहेका अनिल मिश्र, कान्तिपुर टिभीकै अर्का पत्रकार अमरकान्त ठाकुर र एपी वन टिभीका पत्रकार विकास साहले संयुक्त रुपमा नगर प्रमुख साह बिरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएको हो ।

नगर प्रमुख साह संगै उपमहानगरपालिकाका सवारी चालक गंगा मण्डल बिरुद्ध समेत मुद्दा दर्ता गराइएको अध्यक्ष मिश्रले जानकारी दिएका छन ।

नगरप्रमुख साहले आफ्नो कार्यकक्षमा मान्छे लगाएर जानकी मन्दिरको फूलबारी तोडफोड सम्बन्धमा समाचारका लागि प्रतिक्रिया लिन पुगेका कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, एपी वन टिभीका पत्रकार विकास साह लगायतका पत्रकाहरुलाई गाली बेज्जती गर्नुका साथै कुटपिट समेत गर्न लगाएका थिए ।

सो घटनामा करीब आधा दर्जन पत्रकार घाइते भएका थिए, तिनीहरुको संचार सामाग्री समेत नियन्त्रणमा लिई प्रमाण नष्ट मेयरले गर्न लगाएका थिए ।

घटना सम्बन्धमा जानकारी लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मिश्रलाई नगरप्रमुख साह उनका मान्छेहरुले गाली बेइज्जती समेत गरेका थिए ।

मुद्दामा दोषी साबित भए मेयर लालकिशोर साह लगायतकालाई २ वर्षको जेल सजाय वा २० हजार रुपैया जरिवाना वा दूबै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।