कार्तिक १६, काठमाडौं
भिटेनले आफ्नो गीतमा प्रयोग भएका शब्दहरूले सम्बन्धित निकाय र महानुभावलाई पर्न गएको चोट प्रति क्षमायाचना व्यक्त गरेका छन् । उनले शनिबार आफ्नो आधिकारीक फेसबुक मार्फत विज्ञप्ति जारी गर्दै क्षमायाचना व्यक्त गरेका हुन् ।
‘‘सम्बन्धित निकायहरू तथा महानुभावहरूलाई उक्त म्युजीक भिडियोमा प्रयोग भएका केही शब्दहरूबाट पर्न गएको असुबिधा तथा चोट प्रति क्षमायाचना गर्दछौँ ।’’ विज्ञप्तिमा जनाइएको छ ।
उनले ‘पारा’ गीत यूटुबबाट हटाइसकेको र आपत्तीजनक ठानिएका शब्दहरू संशोधन गरीसकिएको भन्दै संशोधीत गीत पुनः ‘भिटेन म्यूजिक’ यूटुब च्यानल मार्फत रिलिज गरिने जानकारी गराएका छन् ।
भिटेनको पछिल्लो समय रिलिज भएको ‘पारा’ शिर्षकको गीतमा प्रहरी र चेलीबेटीमाथि अपशब्द प्रयोग भएको भन्दै प्रहरी प्रधान कार्यलयले साइबार ब्यूरोलाई कारबाही गर्न पत्र काटेको समाचार बाहिर आउनासाथ ‘भिटेन म्यूजिक’ यूटुब च्यानलले उक्त गीत प्राइभेट बनाएकाे थियो ।